Monday, February 5, 2018

गजल

नयाँलाई पायौ पुरानो भुल्यौ , गजब छ
मनमै छौ तैपनि बिरानो भयौ , गजब छ ।

हिजो एक्लै भएर नजिक सरेकी हौ र ?
वरिपरि मौरी आए रानो भयौ , गजब छ ।

म सँधै अमूल्य ठान्थेँ हरेक सम्बन्धहरु
कसरी तिमी आज अर्धानो भयौ , गजब छ ।

एउटै डुङ्गामा थियौँ यात्रा गर्दै हामी दुबै
डुबानपछि एक्लै ओभानो भयौ , गजब छ ।।

Sunday, November 12, 2017

एक बेश्या

"ऊ" एक बेश्या जसलाई कयौँले लुछे
अनि
"ऊ" पनि एक बेश्या जस्ले कयौँलाई लुछ्यो ।

एउटा लुछिईरही अर्कोले लुछिरह्यो ।

"ऊ" समाजको नराम्रो दृस्ठिकोणले हेरिई
अनि
"ऊ" समाजमा बेवास्ताको घमण्ड गर्दै छ ।

Saturday, October 28, 2017

मुक्तक

मान्छेको स्वाभाब ढाँचा छन्द बदलिन्छ !
साँच्चै जानेर हो या अन्धाधुन्ध बदलिन्छ ?
एक्छिनमै रुन्छ मन अनि रुझ्छन परेलाहरु
जब बादल बदलिए झैँ सम्बन्ध बदलिन्छ !!

Monday, September 18, 2017

ऐना अगाडिको मान्छे

जब कोठामा एक्लै हुन्छु ,
सर्ट फुकाल्छु सेन्ड्रोपनि उतार्छु
पुरानो एउटा दराज छ कुनासाईडमा
अनि त्यसमा आधीभाग ओगटेको ऐना !

अनुहार आफै रातो हुन्छ किनकी
लाज लाग्दैछ भन्नपनि ,
म आफ्नो अर्धनग्न शरीर लिएर
दराजको ऐनातिर लम्कन्छु !!

सुकुलपनि छ दराजको अगाडिपट्टी
म त्यसमा बस्छु आरामले ,
अनि हेर्छु आफ्नो शरीर आफ्नै आँखाले !!

हाँस्दा झसङ्ग हुन्छु ,
एउटा नाक चुच्चे दाउरे सिकुटे लुरे मान्छे
आफू अगाडि आएर ञिँच्च परेर बसेको छ ;
बिलकुल चैते बाँदरजस्तै !!

म मा थोरै कन्फिडेन्स बड्छ
मभन्दापनी ख्याउटे र छ यो ,
अचानक मीठो हाँसो खुल्छ मेरो ओठ्मा
तर त्यो मान्छेको त ओठ तन्किएसंगै
मुखभित्रका खप्टेका दाँत टल्किन्छ !!

अनि म अझ खित्का छाड्न पुग्छु
त्यसको गाला झन चाउरीएर
पानी नपाई ओईलाएको च्याऊ जस्तै लाग्छ ,
छ्या हाँसेको कत्ती नसुहाउने !!

अनि त्यो सुकेको नाडी उचालेर
आफ्नो चुस्स परेको चिँउडोको दाह्री मिलाउँछ,
अहँ हाउभाउनै नमिलेको ,
रुखको झ्याउँकिरीले पुतलीको पखेटा सुम्सुम्याएजस्तो !!

अनि म उसको छाती हेर्छु
धर्सा परेका करङका हड्डीबाहेक कै छैन ,
थोरै छातिमा पलाएका रौँले ढाकेका
खोपिल्टोमा फुलेको एउटा रौँ ,
अहो कति छिटै बूढो भएछ !!

म मा दया पलाउन पुग्छ -ऊ प्रती
र बुढी औँला र चोर औँलाले तान्दिन पुग्छु त्यो रौँ !
धत , आफ्नै छातिको रौँ तानेजस्तै गरि
आफैलाई पो चिसिक्क दुख्छ !!!!

Comments system