Sunday, December 27, 2015

गजल



तिमी हिजो भयौ अतीतमा हराउछु ,
र त मा आफ्नै पराजीतमा हराउछु ।

चाहे सगर बन या चाहे बादल
आफैलाई खोज्दा क्षितीजमा हराउछु ।

जब निभ्छ धिपीधिपी आशाको किरण
कतै भेटिन्नौ तिमी भयभीतमा हराउँछु।

सन्ताप छ मनमा धेरै पिडाहरुको
तैपनी पुरानै त्यो प्रीतमा हराउँछु।।

Tuesday, December 1, 2015

सिर्फ शीतको कामना...


जीवनमा यति शितल होस्
घामपनि जमेर बरफ बनोस्
नदीको के कुरा !!
...
जीवन यस्तो होस्
अब कुनै सपना रहेन
जीवन हिँउदे उषा भएर जीओस्
अब त
सिर्फ शीतको चाहना !!

मेरो मुस्कान खेर गयो...

आज बाटोमा टाढैबाट
उनलाई मैले देखेँ,
उनको अनुहारमा
मेरा आँखा परे।
हिड्दाहिड्दै पाईला रोकियो।
...
म टक्क अडिएँ,
सम्झना छ होला
सोचेर दाँत देखाएँ,
कुनै भावनानै व्यक्त नगरी
उनी टोलाईरहिन्,
ती र यी आँखा जुधिरहे,
मनले नमान्दानमान्दै पनि
मैले फेरी गाला खुम्च्याउँदै
कामसम्म पुग्नेगरी ओठ तन्काएँ।
अहँ कुनै जवाफ आएन।
यस प्रकार फेरी एक पटक
मेरो मुस्कान खेर गयो।

सायद तिम्रै हराएको...

तिम्रो शरीरबाट छुटेको
या भनौँ प्रकृतीले लुटेको
डुबुल्कि मार्दै थियो बादलहरुसँग
नारीँदै थियो झरनाका लहरहरुसँग
उर्लिएको छहराहरुझैँ
पहराहरुका लहराहरुझैँ...
नाच्दै थियो मयुरसँगै
बिलकुल स्वतन्त्र पंक्षीझैँ
आज बल्ल अनौपचारीक
खबर आयो,
सायद तिम्रै हराएको
मन थियो त्यो
सायद तिम्रै हराएको
मन थियो त्यो।

Saturday, November 21, 2015

हामी कम्युनिष्ट हुनेछौं

प्रगती अझै डिम्बासयमै छ,
बिकासको शुक्रकिट संचय हुन
अझै केहि समय लाग्छ..
जब बिकासले प्रगतीलाई गर्भाधान गर्नेछ,
समानता जन्मेको दिन
नयाँ क्रान्ति हुनेछ ;
हामी क्रान्तिकारी हुनेछौं
हामी कम्युनिष्ट हुनेछौं ...!!!

Tuesday, November 17, 2015

मुत्तक

कती खस्रा मिठा बात खाईयो जमानामा,
अन्जानमै के साहिनो लाईयो जमानामा;
बुझ्न खोजेँ आज अबिबेकी मन यो मेरो
अनि त्यस्कै प्रतीफल पाईयो जमानामा ,!


Sunday, November 8, 2015

कबिता

हिजो उसंग वेदना पोख्नेहरु,
आज उसैको बेदना नसुन्ने भएका छन्...
हिजो उसंग बहस गर्न नसक्नेहरुले नै
आज उसलाई साब्दिक टुहुरो बनाएका छन्...
नदितीर अनि नङ मासुको सम्बन्ध नजान्ने हरु,
सिक्काको पाटाहरु अलग्याउन लागी परेका छन्...
                                                
स्वंयमप्रभुत्वको बन्दुक तेर्स्याएर                      
तँछाडिएको ममताको शिकार गर्दैछन्...
प्रेम, सहिष्णुता र भावनाका मृगहरु
अरठ्ठीएको नमिठो घृणाको शिकार भएका छन्...

हिजो उसैको छिंडीमा रात काटेकाहरु,
आज त्यही दैलो हेर्न नसक्ने भएका छन्...
हिजो एक घुंड्को पानीमा बाँच्नेहरु
आज पेगको नशामा रमाउन थालेका छन् ...

यता
रणक्रान्तिको यज्ञमा मानिसको होम हाल्ने पण्डितहरु      
शान्तिको पगरी गुथेर बुद्धत्वको मन्त्र पडीरहेका छन् ...
प्रगतिको खुट्टा काटी अपाङ्ग बनाएर
रक्तापुर्ण पोखरीबाट शान्ति झिक्ने प्रयासको नाटक गरिरहेका छन् ...
कुटील मनको सम्पन्नशाली ब्वाँसोहरु
नायकको भूमिका निर्वाह गर्दै छन् ...

आफ्नै मनको आकांक्षालाई धिक्कार गर्दै ,
बाँझो चाहना र सपनालाई गालि गर्दै
मरुभूमि फुलाउने फलाउने पाखुराहरु बज्रंदै छन् ,
भयंकर आशको चट्टानमा लात्रिएर....

अविवेकी आदेशको पर्खाइ गरिरहेका छन्
टुक्रिएको चेतनाको पाटाहरु अलपत्र परेर ...
हिजोका सामाजिक हातहरु
आज निजीकरणमा परिणत भएका छन् ...
यथार्थका वास्तविक नायकहरु
परिबन्दको चपेटामा पिल्सिएका छन् ,

कुनै सिमित चौघेरा भित्र नजरबन्दमा परेका छन् ...!!!!!

Thursday, November 5, 2015

मुत्तक

हिजोलाई भुल्दै अनि अस्तीलाई भुल्दै आशतीत मनको त्यो मस्तीलाई भुल्दै, यसपाली पनि रुङ्याउँदै आईसकेछ दशै कुना कप्चेराका कयौ गाउ बस्तीलाई भुल्दै।!!

Sunday, October 18, 2015

मुत्तक

जीउनकै लागी पिउन फर्केको मान्छे,
हो म मर्दा मर्दै जीउन फर्केको मान्छे।
चङ्चारुपी सपनाहरु उड्दैथे आकासमा,
चुडिएको चाहना लटाई सिउन फर्केको मान्छे ।

Tuesday, October 13, 2015

प्रिय मन्


आज एक्कासी तिम्रो यादले हृदयमा चसक्क बिझायो,
सम्झायो तिम्रो त्यो बिरानो मुहार त्यसमा समाधिन भएको मोहनी मुस्कुरावटहरु ।
बरदान तिमीले पक्कै पाएकी थियौ रुपको , यौवनको,पराईलाई आफ्नो अधिनमा पार्ने कलाको...!!!

अचानक तिम्रो त्यो चञ्चल ब्यवहारमा आशिन भ्रमात्मक शिधापनको बहुचारित्रिक छहराभित्र पुगेँ,
आफैलाई कता-कता नग्न हिनतामा गुम्सिएर त्यो पातलो रेशमी सिमलको भुवाभित्र रुमाल्लिएको कोरला जस्तै महसुस गरेँ ,
बिलकुल अन्जान प्रथम आवात यो जगतमा जस्तै...!!!


बिरानो नठान्दा पनि आवस्यकताको भुमरीमा अल्झेर बिवश परिस्थीतीलाई अगाल्दै जाँदा टाढीनुको कारणहरु मैले गल्ती सरह स्वीकारोक्ती गरेर तिमीलाई सम्झाउँन खोज्दा
उल्टै तिम्रो भागमा औँशी परेको त्यसदिनदेखी भन्दै ताराहरुबिचको परिचित चन्द्रमाको दर्जामा तिमी आफैले आफैलाई उभ्याउँदा, मा फुट्न नसकेको रोदनको भक्कानोले आजसम्म सताईरहेरको छ ।

मानेँ तिमी चन्द्रमा हौ
चाहे त्यो औँशी होस या पुर्णिमा , पुर्ण स्वरुप यसको कसले खण्ड खण्ड गर्न सक्थ्यो   ?? 
तर यहाँ नेर झुक्किएँ मन् तिमीले स्वयमलाई त्यो नजरबाट किन हेर्यौ  ?? 
जुन नितान्त दर्शकीय शौखको अनुमान थियो मेरो नजरमा चन्द्रमा संधै पुर्ण फैलावटको पखेटा फरफराएर आलिशान आशनमा जगमगाउदै हुनेछ।

मलाई चित्त बुझेको छैन, तिमी स्वयमलाई मेरो जीवनमा औँशीको बिल्ला भिराएर स्वयमको अपमान किन गर्यौ  ??
जगतले नियाल्ने भ्रमहरु, ग्रहणमा किन ओझिलिन खोज्यौ  ?? 
सोचनीय -- जती निखारपन तिमीले आफुमा ल्याएपनि स्वयमलाई स्वयमको दर्जामा राख्न राखेर नियाल्न किन सकिनौ  ??

प्रिय मन्,

आज तिमीसँग, भनौँ तिम्रो यादहरुसँग भलाकुसारी गर्न मन लाग्यो। तिम्रो गमनबाट भनौँ बेवास्ताबाट यो कुन्तरामा परेको चोटलाई त्यै छोटो सामिप्यताको यादहरुले भएपनि मल्हम लगाउन मन लाग्यो।

तर मन्

त्यो बेचैन मृगको चेतना भष्म भएर पलाएको मलिनो तिखो सुईले नरम नरम स्पर्शमा ल्याएको डगमगाउँदो अपर्झट बिस्मयको आगो झैँ ह्वार ह्वार दन्किएको ज्वालामा पिल्सिएझैँ
कुनै कुनै यादहरु स्वयमलाई खरानी बनाउने हुँदा रहेछन् , जसलाई थेग्न खरानीनै बन्नुपर्ने ।

अझै याद ,
तिमीसँगको निकटता मेरोलागी केही क्षणलाई भएपनि बडो आनन्दको आभाष प्रतीत हुन्थ्यो, छोटो समयको त्यो बिघ्न खुसी लामो जीवनको आशीर्वीद थियो, तर अफसोच मैले यसैलाई आफ्नो बिषमताको कारण सम्झेर सँधैँ त्यो कहालीलाग्दो डरको जराको पिधमा आफुलाई उभ्याएँ।

अब झिनो आशको त्यान्द्रोमा अल्झिएको साहिनोको पर्यावरणमा फेरी तिमीलाई तानेर आफ्नो दोमनको संघारमा उम्रिएको त्यो घातको हाँगा बियोँल्न तिम्रो अधिनस्ततामा पुन: एकलौटी पक्षधारी निर्णयलाई डुवाउने जमर्को गर्न मन लाग्यो।

Thursday, October 8, 2015

गजल

रातो स्याउझै फक्रिएको गाला बबाल छ
गर्धनमा त्यो प्रकृतिको माला बबाल छ।


किन मनको चाहना बड्दै छ आजकाल
हान्या तिम्ले नजररुपी भाला बबाल छ।


चन्द्र सुर्य नतमस्तक जब तिमी सामु;
गगन चुम्ने नागबेली चाला बबाल छ।


हातमा तिम्रो विश्व अड्ने बाला बबाल छ
गर्धनमा त्यो प्रकृतिको माला बबाल छ ।

Thursday, September 17, 2015

मुत्तक

एक दुई हैन हजार थापिन्छ 
मुर्दा तीरको प्रहार थापिन्छ,
सुन्यता चिर्दै समाधीमा पनि
अंग अंग बेच्ने बजार थापिन्छ 



Friday, September 11, 2015

मुत्तक

  भिखारी हुँ प्रेमको भिक्षा माग्दैछु,
बिस्वास चलाउने शिक्षा माग्दैछु
तिमी जे बुझ,आकाङ्क्ष्या एउटै प्रिय
तिमीभित्र लुकेको मेरो ईच्छ्या माग्दैछु।।


Wednesday, September 9, 2015

मायाँ...


    बेचैनीपुर्ण जीन्दगीबाट मुक्ती पाउन तथा आफ्नो मनबाट एक्लोपन हटाउनको निम्ती मायाँको आवस्यकता पर्दो रहेछ।यसैले होला हाम्रो समाजमा नायक तथा खलनायक दुवैलाई मायाँको आवस्यकता पर्या। मायाँको शुरुवाती सन्दर्भ अझै कसैलाई पनि ज्ञात छैन, पछाडीनै हुनेछ। यो केवल एक भाव हो जसले महशुस गर्यो त्यहि मायाजालमा पर्यो। तरपनि मायाँको व्यापकता अहिले यसरी फस्टाउँदै कि यसबाट नै मानिस महामानब हुन पुगे। 

   

 वास्तवमा हुन पनि हो,माया ईश्वरीय शक्ति हो।नत्र हाम्रा महान व्यक्ति रामतिर्थ यसै जान्ने थिएनन् होला कि यो निन्द्राबस्था जागृत अबस्थामा पनि माया या भ्रम सिवाय अरु केहि छैन। उनको बिचारमा माया भ्रम एकनासे कुलो जस्तो लागेछ,जुन भलमा मात्र आफ्नो वास्तविक रुपमा उपस्थीत हुन्छ।  मायालाई विभिन्न मनहरुबाट भिन्न भिन्न किसिमले नियाल्न सकिन्छ। माया छाया; एउटै एउटै उच्चारण आउन खोजेकैले होला विद्वीन कवीर भन्छन् "माया छाया एकसमान हो।"बास्तवमै माया छाया भाग्नेको पिछा गर्छन् जसले यिनको पिछा गर्छ उसको अघि- अघि भाग्छन्।हाम्रो समाजमा अथवा समाजको व्यक्तिहरुको दिमागमा मायाको भ्रम यस्तो सक्रिय तवरबाट चम्किएको कि ! उनीहरु सोँच्छन माया बिनाको संसार अध्याँरो छ। 


    हो संसार उजिल्याउन मायाको आबस्यकता पर्छनै यधपी माया भन्दा बढी आशा अनि भरोषा चाहिन्छ। जसले आशा तोड्यो उसको भबिष्य हुँदैन जसले भरोषा तोड्यो उसको भविष्यसँगै बर्तमाननै सखाप हुन पुग्छ। आज भोलि हाम्रो वरिपरि केटी केटा केटीहरु एक आपसमा आँखा जुध्दा मायाको आभाष पाउँछन् रे! उनीहरुलाई लागेछ मायानै मन पराउनु हो जुन यौवनकालिन उन्मादका लागी पर्याप्त हुन्छ। तर मायाँ एकछिन मन पराउनुमा छैन, यो युगानान्तकारी समयसगैँ कहिल्यै नडग्ने कहिल्यै परिवर्तन नहुने हुनुपर्दछ। तर हाम्रो समाज मात्र नभई महामानब तथा हामीले मान्ने गरेका भगवानहरुपनि मायाँ गर्न पुग्दा रहेछन्- छोरी मानिससँग। गणेशजीको दुईटी थिए तथा महादेवले तीन वटी आफ्नो भेष परिवर्तन गरी फसाएका थिए केवल श्रापको बाहाना गरेर, अब सोह्रसय स्त्रीपति कृष्णको के कुरा।


    ठ्याक्कै भन्न मिल्दैन तर मनको संबेदनामा मायाँको छाप खाली आकाङ्क्ष्याप्राप्तीमा डुवेको छ।आजकलका युवाहरु मायाँको परीभाषा बदल्न खुव खप्पिस छन्।यदि यसरीनै मायाँ शब्दमा मनुष्य बचनको खोट थुपार्दै जाने हो प्रत्येकको चेतनामा मायाँको तुषारापात गराउने हो भने यसको औचित्य रहला भन्न सकिँदैन


   मायाँलाई हामीले सफलताको भ्रुणको रुपमा लिनुपर्छ।जसबाट पछि बिकासोन्मुख सृजनाको आश गर्न सकियोस्।व्यपकतासँगै फस्टाएको यसको बिकराल रुप कसैले कसैलाइ सुनाउनु चिनाउनु पर्दैन नै तर यथार्थपरक तवरको टिप्पणी गर्न पाउनु सबको हक हो.!

   

    मायाँ एक केटा मानिसले अर्की केटी मानिसलाई गर्ने भाव हो। यसैकारणले मायाँलाई बिपरीत लिङ्गीसँग तुलना गर्न मिल्छ, जस्तै मायाँलाई छोरी मानिससँग तुलना गर्न मिल्छ-छोरा मानिसका लागी। मायाँ प्रेम स्नेह यी सब एकै किसीमका शब्दार्थ हुन्।यसको बीजारोपण मुटुबाट हुन्छ अवशान युद्धबाट। सायद मायाँको शुरुवात युद्धअगी हुनुपर्छ।मायाँकै कारण थुप्रै घटना घटेका घटाईएका स्वयम प्रतक्ष्यकर्ता हुने धेरै छन्। नत्र त्यसै हुने थिएन महाभारत युद्ध रामायणको रचना, जीशस क्रसमा झुण्डीनु पर्थ्यो यीनीहरुमात्र नभई यहाँ बिस्वध्वस्तान्तको अबस्था सृजना गर्ने पहिलो दोस्रो विश्वयुद्ध पनि यसैको उपज होईन भन्न नमिल्ला।  


   तर मायाँ किन यस्तो  ?? आमा बुवाको, दाजु बहिनीबीचको स्नेहलाई सायदै बताउनु पर्ला  आज यस ब्रहमाण्डमा पृथ्वीपनि आफ्नो अस्तित्व रक्षाको निम्ती शुर्यको परिक्रमा गर्न भुल्दैन शुर्यनै आफ्नो सन्तानरुपी ग्रहहरुलाई आफ्नो स्वयमको घेराईबाट बाहिर जान दिन्छ।यसभन्दा ज्यादा मातृ प्रेमको उदाहरण के हुन सक्छ ??


  अब मायाको परीभाषा दिन कोही जानिफकरलाई बोलाउनुनै पर्दैन, सबै बुज्रुक भैसके। मायालाई सिर्फ देखावटी आडम्बरमा उभ्याउनु भन्दा मर्माहत घाउको कोषमा पुगेर नयाँ कोष बिभाजनको प्रकृया चाँडै चलाउनुनै उत्तम होला  अब यसरी सम्झने समय आएको कि " माया भ्रमात्मक दृश्यको सागमा फैलिएको तरङ्ग हो ", "यसबाट बच्न हामीले चाहेनुरुपको पुर्णता लिन खोजे, यसबाट प्रकट हुने सुनामीसँग लड्ने क्षमता राख्न सक्नुपर्छ।"

Comments system