Monday, June 8, 2015

(अन्यौलता)


म यहाँ छु, 
यो दोसाँधमा 
न यता न उताको 
सायद सिमाना यही हो
तिम्रो र मेरो अन्तरयात्राको..!

खै तिमी ?
तिम्रो अस्तित्व ??
एई कहाँ छौ..?
अन्यौल ताजै छ,
अँ जीउँदै...!

म चाहन्छु,
तिमी
तिम्रो उपस्थीती,
भनौँ तिम्रो स्पर्श
सुम्सुम्यावट..!

ताजगीको पर्याक्षय
परीभाषा र अर्थ
ओहो तिम्रो
मधुर सामिप्यता
हुन्छ नि अघोरी मन्..!

तिम्रो जीवन
आत्मा अनि मन
त्यो आँचलको रोमाञ्चकता
हो मेरा स्मृतीको पाउ
तिमी र तिम्रो याद..!

जीन्दगी भाग भाग
अनि तिम्रो चाहना
तिम्रो आवागमनको कल्पना,
यस्तै छ हवीगत
बिलकुल झिनो..

(भुल्ने प्रयास)



सोँच्दा पनि अनायासै,
धड्कनको गती तेज हुन थाल्छ,
मनमा कता कता नरमाईलो लाग्छ,
कहीँबाट कालो पर्याबरण आँखामा छाईदिन्छ।


ओ हो, !!
यो भा'को चैँ के प्रिय ?
जब म तिमीलाई भुल्ने प्रयत्न गर्छु
तिम्रा तस्बिर निकाल्न खोज्छु,
हो दिलको भित्तामा सुसज्जित तस्बिर ।।

अन्तिम पटक एक पटक फेरी
म धीत मरुन्जेल हेर्ने अठोट गर्छु,
नियाल्ने अठोट गर्छु
तिम्रा तस्बिरहरु,,,।

तिनैले मनमा अनौठो तरङ्ग ल्याउँछन्,
तिम्रो मुस्कानमा म फेरी हराउन थाल्छु
सबै भुल्न पुग्छु,
स्वयमलाई समेत...!

अनि यत्तीकै छाडीन पुग्छन्
तिम्रो तस्बिरहरु,
मेरै उही स्थानहरुमा
टकटक टहकिलो
स्पन्दनको महक फैलाएर।

म झस्किन पुग्छु
र फेरी तिम्रा तस्विर मेटाउने कोसीस गर्छु,
यसपटक म केही हदसम्म
अगाडी बड्न पुग्छु..!!

बिधुतीय तस्विर मेटाईसकेँ,
अहँ अब म कदापी सम्झनेछैन
र यो पनि सक्नेछैन,
तर कोसीस जरुर गर्ने छु,
हो प्रिय
तिम्लाई दीलदेखी
भुल्नेको प्रयास।।

कबिता (हाँस्न सकिन)


 (हाँस्न सकिन)

हिमाल सम्झेर हाँस्न सकिन
डाँफे मुनाल सम्झेर हाँस्न सकिन
त्यो लालुपाते र लालीगुँरासको
खुसी चोरेर...
अहँ म हाँस्नै सकिन।

प्रयत्न गरेँ
सिङ्गो देशलाई सम्झने
तर पनि खै किन
म हाँस्न सकिन ।।

मतलब खोजेँ,
कारण तर्क सोचेँ,
अ हँ पत्तो पाउनै सकिन...!!

सायद राष्ट्रले
माझ्न बिर्सीएछ,
दतीवनका पातहरु..!
भाँच्न बिर्सीएछ,
मुखामुखको डाँठहरु..!!

म बास्तबिक रुप पो खोजिरहेछु
तर यहाँ,
सब बद्लिएछ।।

हिमाल पहेँलिएछ,
पहाड नाङ्गीएछ,
तराई खङ्ग्रीएछ ।
अनि म बबुरो
उहि पुरानै राष्ट्र खोज्न हिनेको..!!

जाँदा जाँदै टाढा पुगेछु,
अहँ देश भेट्टाउनै सकिन !
भेटिए त केबल
कोप्चेरामा अड्किएको
आशको मलिनो त्यान्द्रो !!
अनि यसैको चोयाबाट बनेको
निराशको बिशाल भकारी ।।

भकारी खोलेँ
आशलाई उप्क्याउन
बिडम्बना,
त्यहाँबाट त मडारीएर
घृणाका किराहरु छराल्लिए
यत्रतत्र घात र प्रतीशोध बराल्लिए।।


तछाडमछाडका घाईँघुईँहरु
उन्न प्रयोग गरीएको
आडम्बरको कालो डोरीहरु
अनि ईर्श्याको सुईले सिईएको घमण्डको मालाहरु
अँ सबको बिकराल रुप देखीयो,
र अत्यन्तै पिँधमा आशलाई
थिचिएको दबाईएको भेटीयो।।

मैले आशलाई टक्टक्याएँ
साथमा लिएँ अनि
फेरी लागेँ देश खोज्न..!!

तर अफसोच !!
म ढिलो भएछु,
म भन्दा तेज
उनिहरु लम्किएछन्-घृणा र प्रतीशोध.!!

हिमालको चोली उघारेर
पहाडको फरीया उतारेर
नग्न तराईको पिठ्यूँहरुबाट
लुछ्दै थिए,
नशाको कवाफ।।

अनि देश,
भक्कानिएकी,
उँधो,
घोसे मुन्टो गरेकी,..!

हो आफ्नै आँखा अगाडी
रोईरहेको देश देखेर
म हाँस्न सकिन..!!

मातृभूमीको छातीमा
सन्तानको लात्तीको बज्रपात
सहन नसकेर
पिलपिल आँशु बगाईरहेकी
नेपाल आमा देखेर

म हाँस्न सकिन
हो महाशय..!!
बिलकुल,
म हाँस्न सकिन...

(बिडम्बना..)



आशा छुट्यो सिमा टुट्यो छैन कुनै आधारहरु
बिदेशीँदै छन् सबै देश बनाउने कर्णधारहरु


एउटै राम्रा भएनन् नि देश चलाउने शासक
पारे आफ्नै झोलामा सुख बड्दैछ देशलाई भार अरु

कती हाँस्नु बिश्वसामु नभएको दाँत देखाई
हार्न सम्म हारीसक्यौँ चाहिँदैन भो हार अरु


अझै खण्डखण्ड नेपाल संघियता जुझारुपनको
गरीव नेपाल चिनारी छ, छैन कुनै सार अरु

टुटिसक्यो संवन्ध,अपराधको खात जताततै
गल्ती गरी लुक्ने ठाम भो छैन रोक्ने बारहरु।।।।।।।

कबिता (फरक)

कबिता (फरक)


मित्रताको धराशायी गफ हाँकेर
संयमताको परीभाषा
सिकाउने तिम्रो बाणीमा
म कन्नापारी लुकाईएको
तिखो छुराको गहीरो चोटको
दर्द महशुस गर्दछु।


तिमीले  सजाएका
कृतीम भग्नाबशेष
रंगीन सपनाको सजावटमा
म देखावटी स्वाँङ देख्तछु।

तिम्रो प्रत्येक आश्वासनमा
दुर्गन्धित नालीको किराले
म स्वयमको भरोषालाई
काटेझैँ छिनिलो आभाष पाउछु।


तिमीलाई उश्रृङ्खल लाग्ने
भनौँ भन्न अलि लज्जा महसुस गर्ने
नटकलीको नग्न नृत्यमा
म आफुलाई भुल्न पुग्दछु।

तर,

कोठीको बेश्याहरुलाई
म मजबुरीको उपज ठान्दछु
तिमीलाई मिठो लाग्ने
रेस्टुरेण्डको सेकुवामा
म कुहिएको सिनोको गन्ध पाउछु।


हो यसैले म फरक छु मित्र
तिमीभन्दा ज्यादै फरक !

Comments system