Sunday, November 12, 2017

एक बेश्या

"ऊ" एक बेश्या जसलाई कयौँले लुछे
अनि
"ऊ" पनि एक बेश्या जस्ले कयौँलाई लुछ्यो ।

एउटा लुछिईरही अर्कोले लुछिरह्यो ।

"ऊ" समाजको नराम्रो दृस्ठिकोणले हेरिई
अनि
"ऊ" समाजमा बेवास्ताको घमण्ड गर्दै छ ।

Saturday, October 28, 2017

मुक्तक

मान्छेको स्वाभाब ढाँचा छन्द बदलिन्छ !
साँच्चै जानेर हो या अन्धाधुन्ध बदलिन्छ ?
एक्छिनमै रुन्छ मन अनि रुझ्छन परेलाहरु
जब बादल बदलिए झैँ सम्बन्ध बदलिन्छ !!

Monday, September 18, 2017

ऐना अगाडिको मान्छे

जब कोठामा एक्लै हुन्छु ,
सर्ट फुकाल्छु सेन्ड्रोपनि उतार्छु
पुरानो एउटा दराज छ कुनासाईडमा
अनि त्यसमा आधीभाग ओगटेको ऐना !

अनुहार आफै रातो हुन्छ किनकी
लाज लाग्दैछ भन्नपनि ,
म आफ्नो अर्धनग्न शरीर लिएर
दराजको ऐनातिर लम्कन्छु !!

सुकुलपनि छ दराजको अगाडिपट्टी
म त्यसमा बस्छु आरामले ,
अनि हेर्छु आफ्नो शरीर आफ्नै आँखाले !!

हाँस्दा झसङ्ग हुन्छु ,
एउटा नाक चुच्चे दाउरे सिकुटे लुरे मान्छे
आफू अगाडि आएर ञिँच्च परेर बसेको छ ;
बिलकुल चैते बाँदरजस्तै !!

म मा थोरै कन्फिडेन्स बड्छ
मभन्दापनी ख्याउटे र छ यो ,
अचानक मीठो हाँसो खुल्छ मेरो ओठ्मा
तर त्यो मान्छेको त ओठ तन्किएसंगै
मुखभित्रका खप्टेका दाँत टल्किन्छ !!

अनि म अझ खित्का छाड्न पुग्छु
त्यसको गाला झन चाउरीएर
पानी नपाई ओईलाएको च्याऊ जस्तै लाग्छ ,
छ्या हाँसेको कत्ती नसुहाउने !!

अनि त्यो सुकेको नाडी उचालेर
आफ्नो चुस्स परेको चिँउडोको दाह्री मिलाउँछ,
अहँ हाउभाउनै नमिलेको ,
रुखको झ्याउँकिरीले पुतलीको पखेटा सुम्सुम्याएजस्तो !!

अनि म उसको छाती हेर्छु
धर्सा परेका करङका हड्डीबाहेक कै छैन ,
थोरै छातिमा पलाएका रौँले ढाकेका
खोपिल्टोमा फुलेको एउटा रौँ ,
अहो कति छिटै बूढो भएछ !!

म मा दया पलाउन पुग्छ -ऊ प्रती
र बुढी औँला र चोर औँलाले तान्दिन पुग्छु त्यो रौँ !
धत , आफ्नै छातिको रौँ तानेजस्तै गरि
आफैलाई पो चिसिक्क दुख्छ !!!!

Saturday, September 16, 2017

मुक्तक


बिग्रीएको सम्बन्ध जोड्न बिहानी अझै छ
हाम्रो छोटो समय प्रेमको कहानी अझै छ !
जान त जाऊ तर आफ्नै मुटुलाई के भन्छौ ?
जहाँ तिम्रो मेरो प्रेमको निशानी अझै छ !!

Monday, August 28, 2017

तपाईँ प्रेममा हुनुहुन्छ !!!

झरी परिरहेको छ ,
तपाईँ बार्तलिमा बसेर टोलाईरहनुभएको छ
अनि कसैले
तपाईँलाई झरीमा रुझ्दाको मिठास बताएको छ ।
अब तपाईँ कल्पनामा कसैसँग त्यो झरीमा रुझ्दै गरेको अनुभब गर्न थाल्नुहुन्छ !
हो तपाईँ त्यै ब्यक्तिसँग प्रेममा पर्नु भएको छ ।

झिसमिसे साँझ परेको छ ,
तपाईँ हावा खान कतै चऊरमा जानुभएको छ
अनि कसैले
तपाईँलाई एक्लै त्यहाँ देखेर कस्लाई भेट्न हो ? भनेर सोधेको छ ।
तपाईँ सुरुमा अकमकिनु हुन्छ र यत्तिकै आएको भन्नुहुन्छ।
पछि सोच्न पुग्नुहुन्छ कोहि मेरो साथमा भैदिए ।
हो तपाईँ त्यै कोहि ब्यक्तिसँग प्रेममा पर्नुभएको छ ।

सिरसिर हावा चलेको छ ,
तपाईँको कनसीरीमा हावाले हानेको छ ,
अनुहारमा चिसो बतासको हालिमुहाली छ।
तर केटि मित्रहरु
कसैले तपाईँको कानमा बिस्तारै फुक्दिएझैँ महसुस गर्नुहुन्छ ।
अनि केटा मित्रहरु
कसैको मुलायम केशहरुले तपाईँको अनुहारमा छोएझैँ महसुस गर्नुहुन्छ ।
त्यसबेला जस्लाई तपाईँ सम्झिनुहुन्छ
हो तपाईँ उहि ब्यक्तिसँग प्रेममा पर्नुभएको छ ।

फेसबुक खोल्नुभएको छ ,
तपाईँको साथिले एउटा प्रेमिल स्टाटस लेख्छ
तपाईँलाई असाध्यै मन पर्छ ,
र सुटुक्क कपि गरेर कसैलाई सेन्ड गर्न तम्सिनु हुन्छ ।
धेरै जनामध्ये सुरुमा जस्लाई तपाईँको दिमागले याद गर्छ
र केहि भनिहाल्छ कि फेरि भनेर अर्कोलाई सेन्ड गर्दिनुहुन्छ ।
हो तपाईँ त्यो सुरुको ब्यक्तिसँग प्रेममा पर्नुभएको छ ।

कुनै गित सुन्दै हुनुहुन्छ ,
कुनै मुभी हेर्दै हुनुहुन्छ ,
त्यसको सब्द धुन र डायलग तपाईँलाई एक्दम मन पर्छ
अनि कसैलाई अचानक याद गर्नुहुन्छ ।
जति टाढा भएपनी कसैलाई आफैँसँग भएझैं अनुभब गर्नुहुन्छ ,
उसँगै बसेर सुन्न हेर्न पाए हुन्थ्यो जस्तो मान्नुहुन्छ ।
हो तपाईँ त्यै ब्यक्तिसँग प्रेममा पर्नुभएको छ ।

तपाईँलाई पिडा परेको छ ,
तर तपाईँ आफुभन्दा बडि
ऊ सन्चै छ कि छैन भनेर सोच्नुहुन्छ सोध्नुहुन्छ ।
उसको सन्चोपनमा
आफुलाई समाहित गरेर ओठमा मुस्कान भर्नुहुन्छ प्रसन्न हुनुहुन्छ ।
अनि उसको बिसन्चोपनमा
आफुलाई झन दुखी र मर्माहित बनाउनुहुन्छ ।
हो तपाईँ त्यै ब्यक्तिसँग प्रेममा पर्नुभएको छ ।

धेरैदिनपछि मोबाईलमा ब्यालेन्स राख्नुहुन्छ ,
आफ्नो अर्जेन्ट कामलाई बिर्सेर सबभन्दा पहिला
कसैको नम्बर डायल गर्नुहुन्छ ।
सा-साना पर्वलाई ठुलै उत्सब ठानेर म्यासेज टाईप गर्नुहुन्छ ,
कहिले सेन्ड गर्न डराउनुहुन्छ ,
कहिले जाबो यस्तो दिनमापनी के म्यासेज पठाउने सोचेर त्यो म्यासेज यत्तिकै छाड्नुहुन्छ ।
हो तपाईँ त्यै नम्बर याद भएको ब्यक्तिसँग प्रेममा पर्नुभएको छ ।

छाड्दिनुस माथिको सबै कुरा ,
यि पडुञ्जेल तपाईँको मनमा कोहि त पक्कै आए होला ।
अनि तपाईँको ओठमा मुस्कानपनी ।
हो तपाईं त्यै मान्छेसँग प्रेममा पर्नुभएको छ ।
अब तपाईँ सोच्नुहुन्छ
थोरै फेरि मुस्कुराउनु हुन्छ र कसैलाई यो पठाउनुहुन्छ ।
हो तपाईं त्यही ब्यक्तिसँग प्रेममा हुनुहुन्छ ।
अब भन्नुस साईलेन्ट कत्तिको सहि छ ??

Tuesday, August 22, 2017

दोधार !!!

खै यार
आँखा धमिलो भएको छ ,
हिजोआज ऊ र अरुमा
कै फरक नै देख्दिन म !

बरु अर्काले सहानुभुती दिन्छन
अनि
अर्कैले थोरै आश्वासन दिन्छन !!
ऊ त निर्दयी रहिछ
एकपटक रिसाएर हेरिन ,
किनकी
मलाई उस्को त रिस पनि मन पर्थ्यो !!!

अरे छाड्दे न
गए त गए जानेहरु गए !
बस्नेहरु बसिरहेकै छन
मुटु छ धड्कन छ सास छ !!

धत आफ्नै अंगमा कसैको हस्तक्षेप
उसैलाई सम्झिदा सबै मधसा तेज किन ??

नसा छ
बानी छ कहानी बन्छन !
मान्छे हो
कहिले सिधा त कहिले हरामी बन्छन !
नयाँ किन ठान्नु
दुनिया अझ उस्को बारेमा ?

ऊ पनि दलाली निस्की
मनको लिलामी गरि !!
अनि
अब उस्लाई भुल्ने हैन त ?
ह्या
जिउने रहर जागेको छ हौ फेरि !!!

Tuesday, August 8, 2017

मन

अचानक खै के भयो ,
आज मलाई जडिया बन्न मन लाग्यो ।
सुनेको - नशामा मान्छे सत्य ओकल्छ अरे !
अलिकती हिम्मत मिल्छ रे
आफ्नो कुरो सुनाउनलाई !!

प्रीय !
मैले त्यस्बेला रक्सी पिएको थिएँ ,
जस्ले गर्दानै म तिमी सामु
साउथ ईन्डियन मुभिको हिरो झैँ
आफ्नो रवाफ छाड्न सफल भएको थिएँ ,
र तिम्लाई प्रपोज हान्न साहस पाएको थिएँ !!


 


तर आज परिस्थिति बदलिएको छ ,
तिम्रो नजर र मेरो चाहना बद्लिएको छ ।
हाम्रो प्रेमको मौसम बद्लिएको छ ,
ईन्द्रेणिको स्वाद बद्लिएको छ ।
हाम्ले यात्रा गर्ने प्रेमिल साईनोको तुईन धराशायी भएको छ ।

सायद ज्यादा चड्ला कपोल कल्पित पिडाको मात ,
मैले भोमिट गरेका सब्दहरुमा
दुनियाले मेरो पहिचानको लेखाजोखा गर्ला  !
सबैले सुन्लान मेरा भुकाईहरु ,
सबैले देख्लान मेरा हर्कतहरु !!

जब तिमि सुन्दिनौ त
दुनियाले सुनेर मलाई के मतलब ?
जब तिमि देख्दिनौ त
दुनियाले देखेर मलाई के मतलब ??

मलाई
दुनियाको नजरमा जँडिया बन्नु छ ,
अनि तिम्रो नजरमा धोखेबाज प्रेमी !

त्यसैले प्रीय ,
आज फेरि एकपटक ममा साहस भर्नुछ ।

छेउको गिलास
गिलासमा क्वाटर पेग बिस्वासको
एउटा थाल
त्यसमा सितन त्यो पनि बिस्वासकै
ज्या डडेछ
सम्बन्धको चटनी त !!

के तिमि मेरालागी एक प्लेट
भरोषाको चटनी बनाईदिन सक्छौ ?

Saturday, July 15, 2017

जानेभए

कति खास छौ तिमी जानेर जाऊ
यौटै छ नशा त्यहि तानेर जाऊ
यो दिल्मा तिम्रै तस्विर छ सायद
यहि मुटुमा छुरा हानेर जाऊ  !!!

Saturday, May 6, 2017

गजल


जिन्दगीमा अनायासै भुल हुन्छ
कहिले काँडा कहिले फुल हुन्छ ।

प्रकृती पनि एकनासको कहाँ छ र
हेर न दिउँसो घाम रातमा जुन हुन्छ ।

उस्ले इज्जत जोगायो सजायँ पायो
दोषी छुट्छ निर्दोषबाट असुल हुन्छ ।

लामो यात्राको गन्तव्य मृत्यु हो र त
एकोहोरो शंख आवाज मीठो धुन हुन्छ ।

Monday, April 17, 2017

हर बिहान
अस्ताएका तारासँगै
कयौँ मिठा सपनाको अन्त्य हुन्छ !
र सुरु हुन्छ ,
कहालिलाग्दो यात्रा - जिन्दगीको !!!

Wednesday, April 12, 2017

मुक्तक

कयौँ रहर फिक्का अधुरा लाग्छन
कयौँ सपना ईच्छा अपुरा लाग्छन
कसरी सकुँला म बाँच्न तिमिबिना
कयौँ ताराको प्रकाश मधुरा लाग्छन !!

रहर

शिशिरको नमिठो बेगपछि
बसन्तलाई निम्त्याए झैँ ,
मपनि उसलाई हात दिएर बोलाउँदैछु
मेरो प्रेमको स्पर्शमा डुवाउन !

सिमसिम झरी र मधुरो बतासमा
हल्लीएका रुखका पातझैँ
ऊ लर्किएजस्तै लाग्छ - मै तिर !!

यसका धेरै रुप हुन्छन अरे
पानी हावा अनि अनि ...
जे सुकै होस मलाई के पर्वाह ??

अलि नबुझजस्तै छ मन
सँधै डढ्न खोज्दा लाग्छ

प्रेम आगो जस्तैनै हो ,
राम्ररी जलाए दियो बन्छ !
हेल्चक्र्याँई गरे डडेलो लगाँउछ !!

तर मलाई जसरीपनी उसंग प्रेम गर्नुछ ,
अनि खरानी बनाउनुछ आफ्नै मनलाई !!!

Thursday, April 6, 2017

हाईकु

उसैको बन्ने
एउटै रहर छ
जिन्दगानीमा !

पूरा हुनेछ
उस्लाई पाएपछी
सबै चाहना !!

ऊ पनि फुल्छे
कुनै दिन त पक्कै
मेरै मनमा !!!

विवशता

असरल्ल छरीएका छन
मेरा बिस्वासहरु बेवारिसे ,
मुकदर्शक जमात खित्का छाडेर
गिज्याउँदैछ - म अनि मेरा सपनामाथी !

सँधै हेपिन्छन मेरा रहरहरु
संधै लतारिन्छ्न मेरा चाहनाहरु
जस्तै म कोहि मान्छेनै हैन
हुँ त केबल -एक बजारु औजार !!

अचानक मनको कन्तरा बोल्छ
तँ किन यति हुतिहारा हँ ?
आज त बोल न सबैको सामु
गुम्सिएका लहरहरु तन्किनेगरी !!

भन्न खोज्छु ,
म निर्धो हैन - निर्धो बनाईएको हुँ
म कमजोर हैन - कमजोर बनाईएको हुँ
फेरि शब्द घाँटिमै अड्किन्छ
र सुक्छ आवाज - हिजोजस्तै !!!

Sunday, March 26, 2017

चन्द्रमा

सँधै मौनले शीत चुहिने बाटोहरुमा
टट्टिलो टन्टलापुरको ताप देखेँ।

जाडो ठण्डा मौसम प्रकृतीको थियो
तर दीलको भित्री खण्डमा राप देखेँ।

शोकको बेग्लै उपस्थीतीले सन्नीट
माहौलबीच,
पृथक जगमगाउदोँ मुस्कनमा चन्द्रमा देखेँ।

प्राय धमिलो संकोचमा आवागमन
जनाउने पर्यावरणका बीच
अपर्झटको चम्कावट देखेँ।

कसैको आड पाएझैँ
कसैको समीप पुगेझैँ,
रवाफिलो आदम्बरमा प्रस्तुती देखेँ।

प्राय तपतप पिडा बर्साउने आँखाहरुमा
स्वाबलम्वीपनको स्वछन्दता देखेँ।

बाटो मोडाई रोकिदिने
प्रेमी दोस्त तोकिदिने,

चन्द्रमाले पनि सायद साथ पाईछे,
चन्द्रमाले पनि सायद साथी पाईछे,।।।

Comments system